जय शम्भो ! आज महा शिवरात्रि

Posted on: May 02, 2016 | views: 219

२४ फागुन, काठमाडौँ ।
आज हिन्दु धर्मका शक्तिका पर्याय भगवान शिवको पर्व । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा धुमधामका साथ मनाईंदैछ ।

भोले, शिव, शंकर, महादेव, शम्भो लगायत हजार नाम छन् । जसलाई शिव सहस्रनाम भनिन्छ । शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने प्रचलन रहि आएको छ ।

एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार ११६ वर्षअघि अहिलेको सृष्टिको शिवजीले अवतार लिएको शास्त्रसम्मत तथ्य भएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाई छ ।

ब्रह्मा, विष्णु र शिवका नाममा सृष्टि, पालन र संहार गर्न फरक नाम भए पनि तीनै तत्व एकै भएको धर्मशास्त्रमा उल्लेख छ ।

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ ।
वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि प्रमुख र बढी लोकप्रिय रहि आएको छ ।
शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भनिन्छ ।

भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू परम्परा छ ।

महाशिवरात्रिका दिन आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष मेला लागेको छ । लाखौं भक्तजनहरु विहानै देखी पशुपति नाथ मन्दिर पुजा अर्चना र शिवको दर्शन गर्न लाईनमा बसेका छन् ।

देशभर सहित भारत, श्रीलंका, भूटान लगायत देश बाट समेत हिन्दु धर्मावलम्बीहरु यस अवसरमा पशुपतीनाथको दर्शन गर्न आउने गर्छन् ।