१६ भदौ, भक्तपुर ।
आर्थिक खर्च बढी लाग्ने भएकै कारण भक्तपुरको नवदुर्गा नाचका लागि देवगण हुने व्यक्तिको अभाव भएको छ । देवगण हुने ब्यक्ति आर्थिक संकटमा पर्ने भएकाले देबगण हुने ब्यक्तिको अभाव भएको नाचका नाइके बुद्धिबहादुर बनमालाले बताउनुभयो ।
नाचमा सहभागी हुनेले नाच सिक्ने क्रममा हुने सबै खर्च आफैँले बेहोर्नुपर्ने र देवगण बनिसकेपछि ८ महिना भन्दा बढी समय लगातार हुने जात्रा पर्वमा समय खर्चनुपर्ने भएकाले यसमा युवा पुस्ताको आकर्षण कम हुँदै गएको उहाँले बताउनुभयो ।
देवगणले जागिर खान र व्यवसाय गर्न नसकिने भएकाले पनि देवगणको अभाव भएको बताउदै नाइके बनमालाले सरकारले उचित सहयोग नगरे नाच नै लोप हुने भय उत्पन्न भएको बताउनुभयो ।
युवा पुस्ता विदेशिने तथा पश्चिमी संस्कृतिप्रति मोह बढ्दै जाँदा र प्रत्येक वर्ष देवगण फेरिने परम्पराका कारण पनि नाच संचालन गर्न कठिनाई भएको नाईकेहरु बताउँछन् ।
नाच सञ्चालन गर्न १३ देवगण, तीन जना बाजा बजाउने, चार नाइके र तीन पोमी आवश्यक पर्ने गर्दछ । दसैँको कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखलाई दर्शन गराउन देवगणको नाच देखाउने र नवदुर्गा नाच वर्ष दिनभित्रमा बिभिन्न स्थानमा ३५ पटक प्रदर्शन गर्नुपर्ने चलन छ ।
जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जात्रा अवधिभर झन्डै ९÷१० लाख रुपियाँ खर्च हुने गरेको बताउनुभयो ।