घुमफिर र मनोरञ्जनको लागि छुटाउनै नहुने सौराहा

Posted on: April 30, 2016 | views: 223

पुकार तिमल्सिना-काठमाडौं,फागुन १९ । नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहा  घुमफिरका लागि धेरै रमणिय स्थान रहेको छ ।  भरतपुरदेखि करिव १८ किलोमिटर पूर्व–दक्षिण अवस्थित यस क्षेत्रमा बाघमारा सामुदायिक वन तथा निकुञ्जमा हात्तीसयर, राप्ती नदिमा हात्तिसँगै नुहाउने एवम् डुगांसयर, थारु सांस्कृतिक संग्राहलय तथा जैविक सूचना केन्द्र अवलोकन, हात्ती प्रजनन केन्द्र एवम् गाउँ भ्रमण जस्ता क्रियाकलापहरुबाट पर्यटकहरुले मनोरञ्जन लिने गरेका छन् ।

पश्चिमाहरुको जस्तै घुमफिर गर्ने प्रवृत्ति विस्तारै नेपालीहरुमा पनि बढ्न थालेसँगै नेपालीहरु नयाँ९नयाँ स्थानहरुमा घुम्न जाने रमाइलो गर्ने, पैसा खर्च गर्ने गरेको छन् ।  नेपालको पर्यटनमा स्देशी नागरिकको हिस्सा बढ्दै गएको छ ।

साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, टे्रकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रशिद्ध रहेको छ । करिव ४० प्रतिशत बनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि उत्कृष्ट देश मानिन्छ । नेपालको वाइल्डलाइफमा रमाउन बर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्छन् । नेपालको पर्यटक गन्तब्यमध्ये सौराहा पनि एक रहेको हो ।  सौराहामा डुंगा सयर गरेर  हरीयाली जंगल, नदीको किनारमा लम्पसार परेर घाम तापिरहेका गोहीहरु देख्न सक्नुहुनेछ ।  राप्ती नदीमा मगर गोही नाम गरेको गोही बढी देख्न सक्नु हुनेछ  भने प्रत्येका  साँझ थारु जातीको आफ्नो प्रचलन झल्किने थारु नाच साथै लाठी नाँच, मँयुर नाँच, आगो नाँच लगायतका नाचहरु हेर्न सकिनेछ । 

सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन् ।  हात्ती सफारी गर्दा जंगलमा मृग चरिरहेको, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छीहरु हेर्न पाइन्छ । सार्थ, जंगलभित्र देखिने घाँसे मैदानहरुले पनि मन आकषिर्त पार्छन् ।