आज साउन १५ अर्थात खीर खाने दिन

Posted on: July 30, 2016 | views: 540

काठमाडौं,साउन १५ । आज साउन १५ अर्थात खीर खाने दिन । नेपाली संस्कृतिका विभिन्न चाडपर्व मध्ये साउन १५ को विशेष महत्व रहेको छ । नेपाली संस्कृतिमा असार १५ गते दहि चिउरा खाने चलन भए जस्तै साउन १५ गते खीर खाने चलन रहेको छ । नेपाल कृषि प्रधान देश भएको र बहुसख्यक नेपाली कृषी पेसामा आश्रीत रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खीर खाने परम्पराको विकास भएको मानिदै आएको छ । खिरमा रहेको दूध, घिउ, चामल, अलैंची-सुकिमेल, नरिवल, काजु, काजी–बदाम, किसमिस, केशर, चिनी लगायतको मिश्रणले शरीररलाई न्यानो तथा बर्खायामभर खेती गरेर धाक्ने किसानहरुलाई स्फुर्ति समेत दिने भएकाले पनि खिर खाने सस्कृतिले स्वस्थ्य र फुर्तिलो बनाउन सहयोग पु¥याउने विश्वास लिने गरिएको छ । 

आजको दिन घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाईलो गर्ने प्रचलन समेत रहेको छ । कृषकहरुले उल्लासपूर्वक रुपमा खीर खाने प्रचलन रहेपनि यसवर्ष अझै रोपाइको काम बाँकी रहदाँ अघिल्लो वर्षहरुको जस्तो उल्लास भने कम रहेको छ । किसानहरु अहिले पनि रोपाई गर्नमा नै व्यस्त रहेका छन् । अघिल्ला वर्षहरुमा यही समयमा ९० प्रतिशतसम्म रोर्पाइ हुने गरेका यसवर्ष धानको ब्याड राख्ने समयमा समयमै पानी नपर्दा किसानहरु अहिले पनि रोपाईको चटारोमा रहेका छन् । जिल्ला कृषि विकास कार्यालय नुवाकोटको अनुसार अहिलेसम्म नुवाकोटका खेतमा ७५ प्रतिशत क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ । किसानहरु अझै एक हप्तासम्म रोपाईको चटारोमा हुने कार्यालयले जनाएको छ । यसवर्ष नुवाकोटमा धानयोग्य खेत मध्ये ९० प्रतिशतमा रोपाई हुने अनुमान कृषि कार्यालयले गरेको छ ।