दस लाखमा माइतीको हत्या ठेक्का,बा मारिए, आमा र दाजु जोगिए

Posted on: May 02, 2016 | views: 610

काठमाडौं,फागुन १३ ।  स्थानीबाट एक व्यक्तिको लास रहेको सूचना आएपछि प्रहरी हुतिँदै टोखा स्टारटाउन नजिकै निर्माणाधीन पुलमा पुग्यो । घाँटी, टाउको, निधार र छातीमा धारिलो हतियार प्रहारबाट मारिएका अधबैंसेको शव पल्टिरहेको थियो । स्थानीयको जानकारीका आधारमा मृतकको सनाखत भयो, माइला महर्जन ।

माघ २१ गते प्रहरीले घटनास्थलको मुचुल्का गर्दै शव पोस्टमार्टममा पठायो । धारिलो हतियार प्रहारबाट महर्जनको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट अनि घटना स्थलको अवस्थाले समेत हत्या देखिएपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान स्थानीय प्रहरीबाट आफूमा सार्यो ।

अनुसन्धानमा घटनाको अघिल्लो दिन साढे ६ बजेतिर महर्जन घरबाट बाहिर निस्किएको खुल्यो । मृत्युअगाडि अन्तिम सम्पर्क २० वर्षीया छोरी संगीता पाण्डेको महर्जनसँग भएको खुल्यो । बाबुको मृत्युको शोकमा रहेकी संगीतासँग प्रहरीले प्रारम्भिक सोधपुछ मात्रै गर्यो, घटनाको प्रकृतिले व्यक्तिगत रिसइवीका कारण हत्या भएको निष्कर्ष निकाल्दै प्रहरी उनको मनमुटाव भएकाको खोजीमा खटिए पनि संगीतामाथिको आशंका हटेको थिएन ।

परिवारको विमति हुँदाहुँदै संगीताले २ वर्षअगाडि नुवाकोटका सन्तोष पाण्डेसँग भागेर विवाह गरे पनि माइतीसँगको सम्बन्ध राम्रै थियो । अन्तरजातीय विवाह गरेकोमा माइती केही समय रिसाए पनि उनलाई स्वीकार गरिसकेको थियो भने उनी टोखाकै धमलाटारमा बस्दै आएकी थिइन् ।
ब्युटिसियन पढेकी संगीता आफ्नै ब्युटिपार्लर खोल्न चाहन्थिन् । तर, श्रीमानको आर्थिक अवस्था राम्रो नहुँदा उनी माइतीकै आसमा थिइन् । बुबा माइलाले पनि जग्गा बेचेर उनलाई पैसा दिने बताइसकेका थिए । तर, पछि बाबुले पैसा नदिएपछि मनमुटाव भएको तथ्य खुले पनि हत्याजस्तो जघन्य अपराधै गर्नुपर्ने कुनै कारण नखुल्दा प्रहरी अन्य पाटोलाई समेत उत्तिकै प्राथमितामा राखेर अनुसन्धानमा खटियो ।

तर, घटनाको २१ दिनपछि प्रहरीले माइलाको हत्या घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्रँदा उनै संगीताको नाम सबैभन्दा पहिलो सूचीमा घटना योजनाकारका रुपमा थियो ।

महाशाखाका एसपी थापाका अनुसार माइतीको सम्पत्ति हडप्न उनले एक समूहलाई १० लाखमा बाबुसँगै आमा र दाइ हत्याको ठेक्का दिएकी थिइन् । पहिलो घटनामै हत्याको ठेक्का लिनेहरु डराए । संगीता अर्को समूहको खोजीमै रहँदा प्रहरीको फन्दामा पर्दा बाबुको ज्यान गए पनि आमा र दाइ जोगिए । आजको नागरिक दैनिकमा खबर छ ।