ठगी आरोपमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक यादवलाई दुई वर्ष जेल

Posted on: May 23, 2016 | views: 336

१० जेठ, महेन्द्रनगर ।
विद्यार्थीसँग अनधिकृत रूपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित ९५ लाख रुपैया जरिवानाको फैसला सुनाएको छ ।

अदालतले हिजो यादवलाई दुई वर्ष जेल सजाय, ४७ लाख ५२ हजार रुपैया बिगो र त्यतिनै रकम जरिवाना असुल गर्न आदेश जारी गरेको छ ।

आरोपित सञ्जीव फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

उनले जनकपुरस्थित नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स 'धनुषा नर्सिङ कलेज' मा निर्देशक पदमा रहँदा विद्यार्थीसँग अनधिकृत रकम उठाएर ठगी गरेको आरोपसहित कजेलका सञ्चालक गायत्री देवीले मुद्दा दायर गरेकी थिइन् ।

मुद्दा दर्ता भएको दुई वर्षपछि न्यायाधीश ऋषिप्रसाद अधिकारीको इजलासबाट फैसला भएको हो ।