तीन सय अठहत्तरजनाले सगरमाथा चढे, दुई भारतीयको मृत्यु

Posted on: May 23, 2016 | views: 363

१० जेठ, काठमाडौं ।
सगरमाथा आरोहण प्रारम्भ भएको १२औँ दिन हिजो २५ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

यसअघि शनिबार ५० भन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । यससहित वसन्तऋतुको यो मौसममा आजसम्म ३७८ स्वदेशी तथा विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
    
२५ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको र कुन देशका कति आरोही चुचुरोमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसैवीच सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ ।
शनिवार विहान सगरमाथाको चुचुरोमा पुगेर तलझर्ने क्रमममा उनीहरु लडेर वेपत्ता भएपछि खोजी गर्ने क्रममा हिजो मृत अवस्थामा भेटिएका हुन ।

भारतीय नागरिक गौतम घोष र पृतम आरोहीको मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समिति एपिसिसिका कपिन्द्र राईले जानकारी दिनु भयो ।

उनीहरुको साथमा रहेका एकजना नेपाली आरोही भने गम्भीर घाइते रहेको जनाइएको छ । उनको परिचय खुल्न सकेको छैन । दुर्घटनाको कारण थाह भइसकेको छैन ।

उनीहरुसंगै गएका अन्य दुई भारतीय आरोही भने सम्पर्कमा आएको आधारशिविरबाट सरकारका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनु भयो ।