भूकम्प पीडित बर्षाको त्रासमा त्रिपाल र जस्ताको टहरामा रात काट्दै

Posted on: May 23, 2016 | views: 744

१० जेठ, भक्तपुर ।
गत बर्षको भुकम्पपछिको वर्षा, हावाहुरी र चर्को गर्मी शिविरमा कटाएका भक्तपुरका भुकम्प पीडितलाई अब फेरि यस बर्ष आउनै लागेको वर्षा कसरी काट्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

भूकम्प पछि नेपाल रेडक्रस सोसाईटी भक्तपुर र जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको त्रिपाल र टेण्डमा आश्रय लिदै आएका पिडितहरुलाई अब वर्षा कसरी काट्ने भन्ने चिन्ताले सताउन थालेको हो । शिविरमा बस्दै आएका भुकम्प पीडित सबैको त्रिपाल मक्किएर प्वाल परेकाले उनीहरुलाई वर्षा काट्ने चिन्ताले सताउन थालेको हो ।

गत बैशाखको भूकम्पमा घर क्षति भएर अन्यत्र बस्ने ठाउँ नभएपछि यहाँका सबै पिडितहरु अझै पनि त्रिपाल र टेण्ड भित्र ओत लाग्दै आएका छन् । शिविरमा बस्दै आउनु भएकी रमिता सुवाल यहाँ बस्ने सबैको त्रिपाल मक्किएर प्वाल परेकाले वर्षा काट्ने चिन्ताले सताउन थालेको बताउनुहुन्छ ।

भक्तपुरको सानो व्यासी स्थित भूकम्प पिडितको शिविरमा बस्दै आएका ५७ परिवार भूकम्प पिडित आकाशबाट पानी पर्न थालेपछि आतिन्छन् । बाहिर कतै गएका छन् भने हतारिदै शिविरमा आईपुग्छन्, राती पानी परेमा कोही छाप्रोबाट बाहिर निस्कन्छन् भने कोही थाल र कचौरा लिएर चुहिएको पानी थापेर ओछ्यान भिज्नबाट जोगाउन थाल्छन् ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तेजप्रसाद पौडेलले वर्षाको लागि अत्यावश्यक पर्ने ठाउँ तथा शिविरमा पुनः त्रिपाल वितरण गर्नेगरि तयारी गरेको बताउनुभयो ।