आज बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोह

Posted on: May 21, 2016 | views: 502

८ वेशाख, काठमाडौं ।
वैशाख शुक्ल पूर्णिमा अर्थात आज देशभर भगवान गौतमबुद्धको जन्मतिथिमा २५६०औँ बुद्ध जयन्ती नेपाल सहित विश्वभर मनाईदैछ । शान्ति र अहिंसाका प्रतिक भगवान बुद्धप्रति आस्था भक्ति दर्शाएर बुद्धजयन्ती मनाइँदैछ ।

बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ ।
समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुका साथै विभिन्न २८ देशका बुद्ध विद्धान् तथा भिक्षुहरुले सहभागिता जनाउँदैछन् ।

नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा  विश्व प्रसिद्धि भए । ३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गरेको बुद्ध सम्वन्धि खोजहरुमा उल्लेख छ ।

बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश दिएका थिए ।
आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।

यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिन्छ ।

यसअवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूपको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व समेटिएको बौद्ध महाचैत्य ९द ग्रेट बौद्ध स्तूप० पुस्तक सार्वजनिक गरिने भएको छ ।बौद्ध धर्मका ञिङमा, शाक्य, गेलुक र काग्यु चारवटै सम्प्रदायका धर्मगुरुलाई बोलाएर ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयमा प्रवचन गरिंदैछ ।

बौद्धमा बिहान ७ बजे बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् दिउँसो ३ बजे शोभा यात्रा निकालिनेछ ।