भूकम्पको एक वर्षः नेपालको भौगर्भिक अवस्था निकै कमजोर , भुकम्पको खतरैखतरा 

Posted on: May 03, 2016 | views: 256

काठमाडौं,बैशाख ११ । नेपालमा भूकम्प गएको एकवर्ष बितिसक्दा पनि त्यसको त्रास नेपालीको मनबाट हट्न सकेको छैन । परकम्प जाने क्रम पनि रोकिएको छैन । भूकम्पले दिएको पीडा कसैले बिर्सन सकेका छैनन् । त्यसो त, नेपाल भूकम्पीय जोखिमको हिसाबले विश्वको ११ औँ स्थानमा पर्दछ । नेपालको भौगर्भिक अवस्था निकै कमजोर मानिन्छ । दैनिक स–साना भूकम्प गइरहनुले पनि नेपालको भौगर्भिक अवस्था कमजोर देखिन्छ ।

समय–समयमा जाने भूकम्पले नेपाली नागरिकको ठूलो जनधनको क्षति हुने गरेको छ । प्रकृतिको लीला टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । “नेपाल भूकम्पीय दृष्टिकोणबाट जोखिमयुक्त देश हो, ठूला भूकम्पले चिरा पार्ने क्षेत्र धेरै नै हुन्छ, जसले गर्दा ठूलो धनजनको क्षति हुन्छ”–खानी तथा भूकम्प विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका अध्यक्ष तथा भूकम्पविद् लोकविजय अधिकारीले भने ।

केन्द्रको तथ्याङ्कअनुसार भौगर्भिक सतह कमजोर चट्टानका कारण नेपालमा जोखिम बढेको हो । विसं १९९० सालको ८।३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु सङ्खुवासभा थियो । त्यो बेला आठहजार ५१९ जनाको मृत्यु भएको थियो भने भूकम्पले करिब २०० किलोमिटरको क्षेत्रलाई चिरा पारेको र ठूलो मात्रामा जनधनको क्षति भएको थियो ।

त्यस्तै, विसं २०४५ सालको भूकम्पकमा परी ७२१ मानिसको मृत्यु भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखा केन्द्र विन्दु भएर ७।६ रेक्टर स्केलको भूकम्प गयो । राष्ट्रिय योजना आयोगको पीडीएन प्रतिवेदनअनुसार लगभग नौहजार मानिसको मृत्यु भयो ।

“नेपाल भूकम्पीय जोखिम देश हो, भूकम्प आफै खतरा होइन, हाम्रा संरचनाहरु कमजोर छन्”– भूगर्भविद् डा सोमनाथ सापकोटाले भने, “नेपालले जोखिम क्षेत्रको पहिचान गरी बलियो संरचना निर्माण गर्नुपर्छ ।” उनले खानी तथा भूगर्भ विभाग मातहतको २१ वटा साइस्मिक स्टेसन भूकम्प मापन गर्ने कार्यबाहेक अन्य अध्ययन अनुसन्धान गर्ने कार्यका लागि अपुग भएकाले गोरखादेखि रामेछापसम्म अस्थायी रुपमा करिब १०० वटा साइस्मिक स्टेसन स्थापना गरी परकम्पको रेकर्ड गर्ने कार्य सुरु गरिसकको जानकारी दिए ।
एउटै स्थानमा केन्द्रविन्दु बनाएर भूकम्प जाँदा पनि कमजोर जमिन भएको स्थानमा ठूलो क्षति भयो भने त्यही आसपासका जमिन बलियो हुँदा भौतिक संरचनाहरु ढलेनन । कमजोर जमिनलाई जोखिम क्षेत्र भनेर सरकारले पहिचान गर्नुपर्छ, त्यही अनुरुप संरचना निर्माण गरेर बस्ती बसायो भने जनधनको क्षति हुनबाट रोक्न सकिने पर्यटन व्यवसायी प्रचण्डमान श्रेष्ठको भनाइ छ ।

भूकम्प कहिले आउँछ रु कहाँ आउँछ रु भनेर पत्ता लगाउने यन्त्रको अहिलेसम्म विकास हुनसकेको छैन । तर भूकम्पीय जोखिमयुक्त देश भनेर पहिचान भइसकेपछि सधैँ सावधानी अपनाउनु जरुरी छ । “भूकम्प आफै खतरा हुदैन, तर एकवर्ष भयो भनेर बिर्सिदै जाने गर्नुहुँदैन, संरचना निर्माण गर्दा ध्यान पु¥याउनु आवश्यक छ”–श्रेष्ठको भनाइ छ ।

भूकम्पपश्चात सरकारले १४ जिल्लालाई बढी प्रभावित भनेर घोषणा गरेपनि एकवर्ष बितिसक्दा पनि उनीहरुको पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनःनिर्माण गर्नुपर्ने कुराहरु तीव्र रुपमा अघि बढ्न नसक्दा भूकम्पपीडितले निकै कष्टकर जीवन विताउनु परेको अवस्था छ । रासस/ रातोपाटी