‘पानामा पेपर्स’ प्रकरणमा अख्तियारले छानबिन थाल्यो

Posted on: May 01, 2016 | views: 197

७ बैशाख, काठमाडौं ।

पानामा पेपर्ससँग नेपालको सन्दर्भ जोडिएका अनियमितताका  विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ  ।

त्यस प्रकरणमा नेपालका केही उद्योगी, व्यवसायी, सरकारी कर्मचारीसमेत जोडिएको हुनसक्ने देखिएपछि आयोगले छानबिन थालेको हो ।

आयोगका प्रवक्ता कृष्णहरि पुष्करले पानामा पेपर्ससँग केही नेपालीको नाम जोडिएपछि नेपाल सरकारका निकाय र विदेशस्थित कूटनीतिक नियोगसँग पनि सूक्ष्म तवरले द्विपक्षीय छलफल एवम् अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

आयोगले आन्तरिक राजस्व विभाग, उद्योग विभाग, ठूला करदाता सेवा कार्यालय लगायतका निकायसँग पनि छलफल गरिरहेको र त्यस प्रकरणसँग जोडिएका केही विषयमा छानबिन सुरु गरेको जनाएको छ ।  

उक्त ‘पेपर्स लिक्स’मा नेपालका एक दर्जनभन्दा बढी मुछिएको बताइए पनि ती को हुन् र उनीहरुको आर्थिक अवस्था के हो भन्ने बारेमा प्रस्ट रुपमा सार्वजनिक जानकारी भने आउन सकेको छैन ।

आयोगले विभिन्न मुलुकमा रहेका कूटनीतिक निकायसँग पनि आवश्यक परामर्श गरिरहेको छ । सबै तथ्यका आधारमा नेपालका करिब एक दर्जन अधिकारी एवम् व्यवसायी मुछिएको पाइएको र त्यसले मुलुकको प्रतिष्ठामाथि पनि आँच पु¥याएको आयोगको ठहर छ ।