आज चैते दशैं, मुलुकभरका शक्तिपीठ दर्शनार्थीको घुइँचो

Posted on: May 02, 2016 | views: 622

काठमाडौं,बैशाख २ । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं हो। दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंन्छ तर असोजको बडादसैंजस्तो यो बेलामा जमरा भने राखिदैन । चैत महिनामा पर्ने चैते दसैँ यस वर्ष भने वैशाखमा परेको छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ। 

आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठपनि गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ । चैते दसैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।