धादिङमा ग्यास बुलेट पल्टियो, २ जनाको मृत्यु

Posted on: November 11, 2018 | views: 479

२५ कात्तिक, धादिङ ।

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेनिघाट रोराङ –५ का ३५ वर्षीय गीता नेपाली र उनका छोरी २१ वर्षीय सुनिता नेपाली रहेका छन् । दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । गीताको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सुनिताको शव राजमार्ग अस्पताल मलेखुमा रहेको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर बि.क.ले जानकारी दिए।

भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट आफै अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको हो ।

गीता बेनिघाट रोराङ –५ का वडा सदस्य समेत हुन् । चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा हिडिरहेका उनीहरुको ग्यास बुलेट पल्टिदाँ मृत्यु भएको हो । ग्यास बुलेटका चालक भारत बस्ने २६ वर्षका भोला कुमार बेनिघाट प्रहरीको नियन्त्रणमा रहेको छ ।

ग्यास बुलेट पल्टिएको ठाउँमा आगलागी हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा नीलकण्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थलमा धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, एसपी डम्बर बिक लगायतको टोली समेत पुगेका छन् ।