बाम गठबन्धनका सांसद दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय, सांसदबाट निलम्बन

Posted on: January 16, 2018 | views: 2219

काठमाडौं ।
सर्वोच्च अदालतले मनाङबाट प्रदेश सांसदमा बिजयी गुण्डागर्दीमा संलग्न दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ ।

नेकपा एमालेले आफ्ना उम्मेदवार फिर्ता गरि समर्थन र माओवादी केन्द्रले समर्थन जनाएका दिपक मनाङे बाम गठबन्धनको समर्थनमा बिजयी भएका थिए ।

ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै सर्वोच्चले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध यो सजाय सुनाएको हो ।

जनस्तरबाट व्यापक बिरोध भएपछि नेकपा एमालेले दिपक मनाङेलाई उम्मेदवार बनाउने निर्णय फिर्ता लिएर घुमाउरो गरि आफ्ना पार्टीका उम्मेदवारको नाम फिर्ता लिएर सघाएको थियो ।

दर्जनौं गुण्डागर्दीमा संलग्न रहेको घटनाहरु सार्वजनिक भइरहँदा समेत दिपक मनाङेलाई पछिल्लो समय बाम गठबन्धनले सहयोग गरेको थियो ।

सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत निलम्बनमा परेको छ ।

उनीविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

सर्बोच्चको फैसला लगत्तै मनाङे फरार रहेका छन्, प्रहरीले उनको खोजी कार्यलाई गहन बनाउने भनेको छ भने अर्का गुण्डा नाइके गणेश लामालाई सर्बोच्चले सफाई दिएको छ ।