मैना सुनुवारका हत्यारा तीन सैनिकलाई जन्मकैदको फैसला, निरन्जन बस्नेतलाई उन्मुक्ती !

Posted on: December 29, 2017 | views: 338

काभ्रे ।

स्कुले किशोरीलाई पक्राउगरि यातनापछि जिउँदै गाडेर हत्या गर्ने नेपाली सेनाका तात्कालिन तीन अधिकारीले जन्मकैदको सजाय पाएका छन ।

काभ्रे जिल्ला अदालतले मैना सुनुवार हत्याकाण्डमा दोषी ठहर गर्दै तात्कालिन नेकपा माओवादीसंगको युद्धकालमा गरिएको गैरन्यायिक हत्याको मुद्दामा सैनिक अधिकारीलाई अदालतबाट सजाय गरिएको संभवत यो पहिलो पटक हो ।

जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्मकैद हुने फैसला गरेको हो ।

जन्मकैद फैसला भएपनि ५ बर्ष कैद गर्नु ‘मनासिब’ हुने भन्दै सर्वोच्च अदालतलाई राय लेखेर पठाएको जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालक रहेका तत्कालिन सेनानी निरञ्जन बस्नेतलाई भने ‘आदेश मात्रै पालना गरेको’ भन्दै अदालतले सफाइ दिएको छ ।

खरेलथोकस्थित भगवती माविमा कक्षा ९ मा अध्ययनरत मैना सुनुवारलाई सेनाको गस्तीले पक्राउ गरेर ल्याएको ४ दिनपछि ०६० फागुन ५ गते सेनाको तालिम केन्द्रमा यातना दिएर हत्या गरेपछि ब्यारेकभित्रकै खोल्सामा गाडेको थियो ।

राष्ट्रिय र अन्तराष्ट्रिय मानव अधिकारकर्मीहरुको लामो दबाबमा २ बर्ष ८ महिनापछि उत्खनन् गर्दा व्यारेकभित्रै उनको कंकाल भेटिएको थियो । १५ बर्षीय सुनुवारको हत्याको आरोपमा विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत काठमाडौ ३३ घर भएका महासेनानी खत्री, काठमाडौ ३ घर भएका सहसेनानी अधिकारी, रुपन्देही ३ घर भएका सहसेनानी अमित पुन र दोलखा मकैबारी गाविस ९ घर भएका सेनानी निरञ्जन बस्नेतलाई विपक्षी बनाइ ०६४ माघ ७ मा अभियोग दर्ता भएको थियो ।

०७० असोज १ गतेदेखि मुद्दा २ बर्षका लागि मुल्तवीमा थियो । सुनुवारकी आमा देवीले मुद्दा जगाउन निवेदन दिएपछि जिल्ला अदालत काभ्रेमा २ बर्षको लागि मुल्तवी रहेको सशस्त्र द्वन्दकालीन मुद्दा फेरी जागेको हो । नेपाली सेनाले भने सैनिक अदालतमार्फत फैसला भएर कार्वाही गरिसकेको बताउादै आएको छ ।

प्रहरीले पनि सेना विरुद्धको जाहेरी दर्ता गर्न अस्विकार गर्दै आएपनि सर्वोच्च अदालतको आदेशपछि दर्ता गरेको थियो । मैनाकी आमा देवीले ढिलै भएपनि न्यायको ढोका खुलेको प्रतिकृया दिनुभयो ।

‘दर्ता नै गर्न नमानेको मुद्दामा फैसला हुनु राम्रो हो,’ देवीले भन्नुभयो, ‘अव फैसला कार्यान्वयन हुनुपर्यो, पीडकलाई तत्काल हिरासतमा लिएर कार्वाही थाल्नुपर्यो ।’ ४ जनाका विरुद्ध किटानी जाहेरी दिएकी उनले निरञ्जन बस्नेतले उन्मुक्ति पाएको भन्दै यसको लागि पुन न्यायको ढोका ढकढक्याउने बताउनुभयो ।