हरुवा मन्त्रीले मनलाग्दी निर्णय गर्न खोज्दा मन्त्रिपरिषद् बैठकमा चर्काचर्की

Posted on: December 29, 2017 | views: 218

काठमाडौं ।

जनमतबाट पराजित भएपनि सरकारको मन्त्रीपद खाइरहेका मन्त्रीहरुले आफुखुसी प्रक्रिया मिचेर निर्णय गर्न खाजेपछि सचिवहरुले असहमती जनाउँदा मन्त्रीपरिषद बैठकमै चर्को विवाद भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की नै भएको छ ।

सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध खनिएपछि तनाव उत्पन्न भएको थियो ।

बैठकको अधिकांश समय यसै विषयमा बित्यो । बैठकमा मन्त्री र सचिवबिच मात्र नभई मन्त्री र मन्त्री तथा मन्त्री र मुख्यसचिवबीच आरोप प्रत्यारोप भएपछि प्रधामन्त्री देउवाले हस्तक्षेप गर्नुपरेको थियो ।

नयाँ प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीका निर्देशनअनुसार मुख्य सचिव रेग्मी र सचिवहरुले काम गरिरहेको तथा आफुहरुलाई नटेरेको आरोप मन्त्रीहरुले लगाएपछि बैठक असहज बनेको थियो ।

मन्त्रिपरिषदको बैठकमा सचिवले असहयोग गरेको भन्दै शहरी विकासमन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषदको बैठकमा हंगामा भएको छ ।

बैठकमा मन्त्री गिरीले शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफूलाई पूरै असहयोग गरेको भन्दै असन्तुष्टिसहित सचिव परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि उपप्रधान एवं उर्जामन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।

मन्त्रि गिरीले अडानका साथ सचिवले जनताको काम गर्नुको सट्टा होटलहोटलमा ठेकेदारसँग मिलेर ठेक्कापट्टा मिलाउन लागेको भन्दै थप आक्रोशित भएपछि दुई मन्त्रीबीचको बिबादले उग्र रुप लिएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार, सचिवको बिषयले बैठकमा निकै ठूलो रुप लियो, प्रधानमन्त्रीलाई समेत सम्हाल्न गाह्रो भयो ।' थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, शहरी विकास मन्त्रालयका सचिव परिवर्तन हुँदैन, काम गर्न नसक्ने हो भने राजीनामा गर्नु हो, म अहिले नै स्वीकृत गरिदिन्छु ।'

बैठकमा उपप्रधानमन्त्री बिजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्य सचिवकै भूमिका रहेको आरोप लगाएका थिए । २० मिनेट चर्काचर्की भएको बैठक खास विषयमा छलफल हुननसकी सकिएको बताइएको छ ।