अशक्त बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय

Posted on: December 28, 2017 | views: 224
काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गौलाले काम नगर्ने, क्यान्सर रोगी र मेरुदण्डमा समस्या आई पक्षघात भएका अपांग बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले डा पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै रानीपोखरी पुनःनिर्माणमा देखिएको विवाद समाधानका लागि पुरातत्व विभागले स्वीकृत गरेको मापदण्ड बमोजिम नै निर्माण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो । बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागत रुपमा सञ्चालन गर्दै त्यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने ६ अर्ब २१ करोड रुपैयाँ ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने १ अर्ब ४ करोड रुपैयाँ अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।