प्रदेश सरकारका लागि यसरी छानियो २ हजार कर्मचारी

Posted on: December 21, 2017 | views: 239

काठमाडौं ।

सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ ।

सामान्य प्रशासन मन्त्रालयले ७ प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका ७ मन्त्रालयका लागि करिब २ हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिनुभयो ।

सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारिएको र प्रदेश प्रमुख नियुक्त हुनासाथ कर्मचारी खटाउन सकिने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको र पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ ।

उहाँका अनुसार सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मको विवरण तयार पारिएको हो । प्रदेश मन्त्रिपरिषद्मा सचिव र मन्त्रालयमा सहसचिव हुने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता न्यौपानेले सेवा सञ्चालन गर्ने मन्त्रालयले कामको विवरण उपलब्ध गराएपछि सो बमोजिम ती कर्मचारीलाई पठाइने बताउनुभयो ।