सरकार ! किन रोकिएन बम आतंक ?

Posted on: December 02, 2017 | views: 79

काठमाडौं ।  देश संविधान कार्यान्वयनका लागि महत्वपूर्ण खुड्किलो मानिएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन संघारमा होमिएको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत हिमाली र पहाडी ३२ जिल्लामा १० मंसिरमै मतदान सम्पन्न भइसकेको छ । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सांसद चयनका लागि जनमत मतपेटिकाभित्र पुगिसकेको छ, गणना सुरु हुन मात्र बाँकी छ ।


यसबीच दोस्रो चरणको निर्वाचन संघारमा आइसकेको छ । आगामी २१ मंसिरमा ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभातर्फ १२८ र प्रदेशतर्फ २६५ सांसद चयन हुनेछ । त्यसैले राजनीतिक दल जोडतोडले प्रचारप्रसार गरिरहेका छन् । निर्वाचनपछि कसले बहुमत ल्याउला वा कुन दल सबैभन्दा ठूलो बन्ला भन्ने कौतुहलता आम मतदातामा देखिन्छ ।


तर, सिंगो मुलुक निर्वाचनमा होमिएका वेला निर्वाचन बिथोल्न हिंसात्मक गतिविधि पनि भइरहेका छन् । ठाउँठाउँमा बम विस्फोट भइरहेका छन् । उम्मेदवार र निर्वाचन प्रचारमा खटिएका कार्यकर्तालाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराइएको छ ।

सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको आशंकामा केहीलाई नियन्त्रणमा लिए पनि घटना न्युनिकरण भएको छैन । शुक्रबार मात्रै देशका विभिन्न ठाउँमा ठूलो मात्रामा विष्फोटक पदार्थ र हतियार फेला परेको छ, नयाँ पत्रिकामा खबर छ  ।