निर्वाचनमा नेताको सुरक्षा, झडप र मतदानमा सुरक्षा दिन सुरक्षा समितिमा छलफल

Posted on: November 12, 2017 | views: 96

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको उपस्थिति तथा निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा आगामी मङ्सिर १० गते ३२ जिल्लामा हुने निर्वाचनका लागि निर्वाचन सुरक्षा योजना, सुरक्षाको विद्यमान अवस्था र निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूको अवस्थाका बारेमा विस्तृत छलफल भएको छ ।

आज निर्वाचन आयोगमा बसेको बैठकमा हालै विभिन्न ठाउँमा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलताका बारेमा समेत बृहत छलफल गरिनुका साथै उम्मेदवार केन्द्रित घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायहरू थप प्रबन्धका साथ अघि बढ्ने विषयमा छलफल भएको थियो ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन सुरक्षा योजना र बैठकमा सुरक्षा निकायहरूबाट प्रस्तुत निर्वाचन सुरक्षा कार्ययोजना एवं प्रतिवद्धताबाट निर्वाचनको सुरक्षाप्रति आयोग विश्वस्त रहेको बताउनुभयो ।


प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी निर्वाचनका लागि हालै सम्पन्न उम्मेदवारी मनोनयनका कार्यक्रमहरू शान्तिपूर्ण रूपमा भएको र दल तथा उम्मेदवारहरूबाट प्रचार प्रसारका कार्यहरू पनि शान्तिपूर्णरूपमा भइरहेको बताउनुभयो ।


बैठकमा निर्वाचन आयुक्त एवं उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहले सुरक्षा निकायहरूबाट प्रस्तुत निर्वाचन सुरक्षा योजनालाई थप सुदृढताका साथ कार्यान्वयन गर्न र सुरक्षा निकायहरूबीच राम्रो समन्वय कायम गरी कार्यक्षेत्रमा खटिनु पर्ने आवश्यकता औंल्याउनु भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।


निर्वाचन आयुक्त शाहले दुर्गम तथा हिमाली भेगमा सुरक्षा र यातायात तथा संचारको राम्रो व्यवस्था मिलाउन सुरक्षा निकायहरूलाई निर्देशन समेत दिनुभयो ।


गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन प्रचार प्रसारका क्रममा हालै देखिएका केही घटनाहरूलाई लिएर थप सुरक्षा प्रबन्ध मिलाइएको र आइपर्न सक्ने सुरक्षा चुनौतिहरूको विश्लेषण गरी त्रुटीरहित र भरपर्दो सुरक्षा प्रबन्ध मिलाउने जानकारी दिनुभयो ।


बैठकमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल र इश्वरीप्रसाद पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी., निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी उपस्थित हुनुहुन्थ्यो ।