आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घय दिईंदै, छठको महत्व र नेताका शुभकामना यस्तो छ

Posted on: October 26, 2017 | views: 161

काठमाडौं ।

विशेषगरि तराईका जिल्लाहरुमा र पछिल्लो समय काठमाडौं उपत्यका सहित देशभर मनाउन थालिएको पवित्र छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घय दिइँदैछ ।


कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व गत मंगलबारबाट शुरु भएको हो ।


ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 


सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ । 


संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । 


छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । 


कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजाआरधना गरी अघ्र्य दिएमा चर्म रोग लाग्दैन भन्ने धार्मिक विश्वाससमेत छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेको छ ।


छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । बिहीबार बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।


आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्‍भाव कायम गर्न सफल रहोस् भन्‍ने कामना व्यक्त गर्नुभएको छ ।


यसैगरि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको पावन अवसरमा शुभकामना दिनुहुँदै पवित्र छठ पर्वको माध्यमबाट नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने बताउनुभएको छ । 


प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।


आज एक शुभकामना सन्देश जारी गर्दै  पधानमन्त्री  देउवाले छठ प्रेस, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरूको महान चाड भएको बताउँदै उहाँले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गर्नुभएको छ ।


यस पर्वलाई सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको समारात्मक सन्देश दिने पर्वको रुपमा लिएको बताउँदै प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पु¥याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामनासमेत गर्नुभएको छ ।


प्रधानमन्त्री देउवाले देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको उल्ल्ेख गर्दै निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर भएको पनि सन्देशमा उल्लेख गरिएको छ । 


शुभकामना सन्देशमा उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै अनेक संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाएको बताउनुभएको छ ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।


आज एक शुभकामना सन्देश दिँदै उहाँले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने पनि  उल्लेख गर्नु भएको  छ ।


यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विविध जाति, भाषा, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा यस प्रकारका पर्वले आपसी प्रेम, सद्भाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउनसमेत प्रेरणा दिने बताउनुभएको छ ।