म्ह ः पूजा नेवार समुदायको एक मौलिक पर्व

Posted on: October 20, 2017 | views: 262

भक्तपुर ।

कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्वलाई मौलिक संस्कृतिका रुपमा विकास गर्न सिपालु नेवार समुदायले घण्टाकर्णमा राक्षसको पूजा गर्दछन् भने गुन्हुपुन्ही अर्थात् जनैपूर्णिमामा भ्यागुताको पूजा गर्दछन्।

 


यतिखेर नेपाली समाज तिहारमय भएको छ। सबैलाई लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री जोहो गर्न भ्याइनभ्याइ भएको अवस्थामा नेवार समुदायलाई भने आज म्हःपूजा अर्थात् शरीर पूजाको तयारीको समेत चटारो परेको छ।

म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले आआफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रुपमा समेत मनाउँदै आइरहेका छन् ।

म्हःपूजाका लागि सबैभन्दा पहिले मण्डप बनाउनु पर्दछ। मण्डप बनाउँदा तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरिन्छ। मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्नुपर्दछ।


त्यसअघि मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ । म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन् । सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ । कोखा काँचो धागोमा रंङ्गीबिरङ्गी कपडाको टुक्रा राखेर बनाइन्छ ।

म्हःपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं ९मूली महिला०ले गर्ने परम्परा छ । यो पूजा गर्दा शरीरमा तीनपटकसम्म मुटुमारी ९चामलको रोटी० सहित पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ । अनि टीका लगाई माला लगाइन्छ ।

आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने गरिन्छ । यो पूजा आफ्नो शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ । यो पूजा गर्दा बलिराजालाई साक्षी राखी पूजा गरिन्छ । यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्रीलगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ ।


नेवार समुदायमा म्हःपूजाको विधि स्थान विशेषमा फरक फरक रहेको पाइन्छ । स्थान विशेषअनुसार पूजा गर्ने विधिमा केही फरकपन आएपनि सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको पाइन्छ ।

सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउनुहुन्छ । उहाँका अनुसार मानव समाजमा आत्मभन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टि मिलोस् भनी यो पूजा गरिन्छ ।

“आत्म सन्तुष्टि नै सबभन्दा ठूलो सन्तुष्टि हो । यही म्हःपूजाको सेरोफेरोमा रहेर हामी काग, कुकुर, गाई, गोरुको पनि पूजा गर्छौं”– उहाँ भन्नुहुन्छ, “हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । यी पाँच तत्वका रुपमा हामी तिहारमा गरिने पूजालाई लिन सक्छौँ ।” म्हःपूजा चेतनशील प्राणीले आफ्नो शरीरको रक्षा गर्न र शरीरलाई सधैँ स्वस्थ राख्न गर्ने भएकाले यसलाई सम्पूर्ण मानव समुदायले गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

म्हःपूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको पाइन्छ, किनभने पञ्च मकारका रुपमा लिँदा अण्डालाई मैथुनका रुपमा लिइन्छ । जसमा प्राण छ, प्राण भएपछि सृष्टि हुन्छ जसले गर्दा मानव सभ्यताको विकासक्रममा यसले सहयोग पु¥याएको देखिन्छ ।


म्हःपूजाको दिन नेपाल संवत् शुरु हुने दिन पनि हो । वर्षभरि कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरि शरीरमा कुनै रोगव्याधीले नसताओस् र शरीर सधैँ तन्दुरुस्त होस् भन्ने कामनाले पनि म्हःपूजा गर्ने प्रचलन शुरु भएको अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

म्हःपूजा कहिलेदेखि शुरु भएको वा कसले चलाएको भन्नेबारे यकिन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउनुुहुन्छ ।

म्हःपूजाको दिन शंखधर साख्वाले तत्कालीन नेपालका सबै जनताको ऋण चुक्तागरी ऋणबाट मुक्त गराएको आख्यानसमेत रहेको छ । शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल संवत् शुरु भएको कथन पाइन्छ ।

सो कथनअनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुहुर्तमा विष्णुमती र भद्रमतीको बीचमा रहेको चंखुतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ति चढाउँछन् । सोहीअनुसार चारजना भरियालाई राजा आनन्द देवले गोप्य रुपमा चंखुतीर्थमा बालुवा लिन पठाउँछन् । ती भरिया बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले ।


उनले बालुवामा केही रहस्य भएको शंका गरी ती भरियालाई लोभमा पारेर थप ज्याला दिई बालुवाको भारी आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाए ।

Source : Nagariknews