बाघले यसकारण गर्दो रहेछ ठूला जनवारलाई आक्रमण

Posted on: October 09, 2017 | views: 313

काठमाडौं- बाघले साना र मध्यम खालका शाकाहारी जनावर मात्र खाने गरेकामा पछिल्लो अध्ययनले आफूभन्दा ठूला र घरपालुवा जनावरप्रति आकर्षित हुने गरेको देखाएको छ। चितवन निकुञ्जका विभिन्न स्थानबाट संकलन गरिएको बाघको दिसाको अध्ययनरविश्लेषणबाट यस्तो सूचना मिलेको हो। त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. मुकेशकुमार चालिसे, राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेल र हिमाली जैविक विविधता सञ्जाल नेपाल, भरतपुरका शिभिस भण्डारीले चितवन निकुञ्जका बाघका आहार प्रजातिबारे अध्ययन गरेका थिए। उक्त अध्ययनले गाई, भैंसी र गौरी गाई पनि बाघको आहार बन्दै गएको देखाएको हो। 

तीनवटै जनावर बाघभन्दा ठूला हुन्। ‘साना र मध्यम खालका जनावर मात्र होइन, अब आफूभन्दा ठूला प्रजातिका जनावरलाई पनि बाघले सिकार गर्ने गरेको देखिन्छ,’ अनुसन्धानकर्तामध्येका एक डा. चालिसेले शनिबार कान्तिपुरसित भने, ‘यसले बाघ र मानवबीच द्वन्द्व बढ्ने प्रस्ट संकेत गर्छ।’ बाघ गणना– २०१३ अनुसार मुलुकभर पाइएका १ सय ९८ मध्ये चितवन निकुञ्जमा मात्र १२० वयस्क बाघ छन्। अनुसन्धानकर्ताहरूले बाघको आहारा प्रजाति पत्ता लगाउन चितवन निकुञ्जका विभिन्न १ सय ९ स्थानबाट बाघको दिसाको नमुना संकलन गरेका थिए। तीमध्ये ८५ स्थानको दिसालाई नमुना मानेर त्रिविस्थित ल्याबमा जाँच गरिएको थियो। चालिसेका अनुसार दिसामा उसले खाएका आहार प्रजातिका रौंको अवशेष हुने भएकाले आहार प्रजाति छुट्याउन सकिन्छ। 

अध्ययनले बाघले चित्तल, जरायो, जंगली बँदेल, लगुना, रतुवा मृग, गौरी गाई, भैंसी र गाई गरी आठ प्रजातिका जनावर खाने गरेको देखाएको छ। बाघले पहिले मध्यम खालका प्रजातिमा पर्ने चित्तल, जरायो, लगुना, रतुवा मृगल, दुम्सीगायतलाई मात्र मुख्य आहारका रूपमा लिने गरेको थियो। पछिल्लो अध्ययनले बाघले संरक्षित सूचीकै जनावर गौरी गाईलाई समेत आहार बनाउने गरेको पाइएको छ। ‘मध्यम आकारका शाकाहारीलाई आक्रमण गर्नु त स्वाभाविकै हो,’ चालिसेले थपे, ‘दैनिक आपूर्तिका लागि पहिला सामान्यतया नखाने गरेको र ठूला जनावरको पनि सिकार गर्ने क्रम बढ्नु राम्रो होइन।’ 

बाघका विषयमा विद्यावारिधि गरेका डा. झमकबहादुर कार्कीका अनुसार बाघले एउटा प्राकृतिक आहारलाई सिकार गर्न कम्तीमा २० पटक प्रयास गरेको हुन्छ। ‘२० पटक प्रयास गरेपछि बल्ल एउटा प्राकृतिक जनावर सिकार गर्न सक्छ,’ कार्कीले भने, ‘घरपालुवा जनावरले बाघबाट भाग्न जानेको हुँदैन, गन्ध पनि थाहा पाउँदैन। त्यसैले बाघले सीधै घाँटीमै आक्रमण गर्न सक्ने भएकाले १९ पटकको शक्ति खेर नजाओस् भनेर घरपालुवामा ध्यान दिएको पनि हुन सक्छ।’ कान्तिपुर दैनिकमा समाचार छ । 

एउटा वयस्क बाघले दिनमा १८ देखि २० केजी मासु खान्छ 

उही समय र उही शक्ति लगाउँदा ६/७ दिन पुग्ने जनावर मार्न सकिने भएकाले पनि घरपालुवा वा ठूला जनावरमा बाघ आकर्षित भएको हुन सक्ने बाघविज्ञ कार्कीको विश्लेषण छ। ‘चितवनमा मध्यवर्ती क्षेत्रमा बाघको विचरण बढी भएकाले छाडा घरपालुवा जनावरलाई बाघले आहार बनाउने गरेको देखिन्छ,’ कार्कीले भने, ‘यसले बाघ र मानवबीचको द्वन्द्व बढ्ने संकेत गर्छ।’ सरकारले बाघलगायत वन्यजन्तुले घरपालुवा जनावर मारे क्षतिपूर्ति रकम दिने गरे पनि त्यसप्रति स्थानीय सन्तुष्ट छैनन्। एउटा वयस्क बाघले दिनमा १८ देखि २० केजी मासु खान्छ। एकपटक सिकार गरेको आहार उसले तीन दिनसम्म खान्छ। 


साँचेर राखेको आहार छेउमा मानवीय गतिविधि भए ऊ आक्रामक बन्छ। त्यस्तो बेला मान्छेमाथि आक्रमण गर्ने सम्भावना बढ्ता हुन्छ। वयस्क पोथी बाघले २० देखि २५ र भालेले ४० वर्ग किमिसम्मको क्षेत्रलाई आफ्नो ‘टेरिटोरी’ बनाएको हुन्छ। घरपालुवा, संरक्षित सूचीकै र ठूला जनावरलाई बाघले आहार बनाउनुलाई वन्यजन्तुविद्ले भने वन्यजन्तु संरक्षणको अर्को चुनौतीका रूपमा व्याख्या गरेका छन्। 


‘गाई, भैंसी हुँदै भोलि गैंडातिर आकर्षित भयो भने के हुन्छ रु’ चालिसेको प्रश्न छ, ‘त्यही भएर चित्तल र जरायोलगायत बाघका आहार प्रजातिको संख्या बढाउनेतिर बेलैमा ध्यान दिनुपर्ने देखिन्छ।’ बाघको मुख्य आहार चित्तल, जरायो, लगुनाको बगाल घट्नु र सिकार गर्न धेरै मिहिनेत र समय खर्चनुपरेकाले सुलभ तरिकाले मार्न सकिने र अल्छी जनावरप्रति बाघ आकर्षित भएको हुन सक्ने अध्ययनको निष्कर्ष छ। ‘आफूले खाइरहेका जनावर सहजै नभेटेपछि धेरै खानाको आसमा ठूला जनावर र घरपालुवातिर आकर्षित भएको हुन सक्छ,’ चालिसे भन्छन्, ‘यसले झनै वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्ने देखिन्छ।’ ८५ वटा दिसाको नमुना परीक्षण गर्दा बाघको दिसामा दुई भैंसी, दुई गौरी गाई र एक गाई सिकार गरेको अवशेष पाइएको छ। बाघले खाएका ८ आहार प्रजातिमध्ये गौरी गाई बाघजस्तै निकुञ्ज ऐनमा संरक्षित सूचीमा पर्छ। यसले संरक्षित सूचीकै वन्यजन्तुबीच पनि द्वन्द्व बढ्ने संकेत गरेको छ। 


चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रको मानवीय बस्तीमै आएर बाघले घरपालुवा जनावर मार्ने क्रम पछिल्ला दिनमा बढदो छ। घरपालुवा जनावरप्रति आकर्षित भएर बाघले सिकार बढी गरे संरक्षणप्रति नकारात्मक बुझाइ बढदै जाने भएकाले बेलैमा उसका परम्परागत आहार प्रजातिको संख्या वृद्धिका लागि ध्यान दिनुपर्ने अनुसन्धानकर्ताहरूको सुझाव छ। ‘बाघको संख्या बढाउने हो भने घाँसे मैदानको व्यवस्थापनमा पनि ध्यान दिनुपर्‍यो,’ चालिसेले भने, ‘जंगलभित्रै आफ्नो मुख्य आहारको बगाल भेट्यो भने मानवीय बस्तीमा आएर बाघले दुस्ख दिँदैन, मानव र वन्यजन्तु द्वन्द्व घटाउन पनि सहयोग पुग्छ।


’ वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखाका प्रमुख डा. महेश्वर ढकाल पनि गैंडा र बाघजस्ता ठूला वन्यजन्तुको संख्या विस्तार गर्न र तिनको दिगो संरक्षण गर्न बासस्थान र आहार व्यवस्थापनमा लगानी गनुपर्ने औंल्याउँछन्। ‘आहार र बासस्थान नहुने हो भने संख्या विस्तार सम्भव छैन,’ उनले भने। अनुसन्धानले ठूला वन्यजन्तुको दिगो संरक्षण गर्ने हो भने तिनका पर्याप्त बासस्थान, खानारआहार तथा तिनको बाहुल्यरउपलब्धताबारे पनि सोच्नुपर्ने देखाएको छ। 


चितवनमा मिचाहा प्रजातिका बिरुवाका कारण शाकाहारी जनावरको पोसिलो आहार खोसिएको छ भने बासस्थान पनि खुम्चिँदै गएको छ। त्यसको प्रत्यक्ष असर तिनको जन्मदरमा परेको छ। जसले विगतमा बगालमा देखिने चित्तल, जरायो र लगुनालगायतको संख्या घटदै गएको छ।