बडा दशैं अन्र्तगत आज महाअष्टमी पर्व, दुर्गा मन्दिरमा भक्तजनको घुईचो

Posted on: September 28, 2017 | views: 340

काठमाडौं ।

नेपालीहरुको महान चाड बडा दशैंको आठौं दिन महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाइरहेका छन् ।


आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । 


विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । 


“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”– उहाँले भन्नुभयो । 


ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उहाँले बताउनुभयो । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ । 


“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”– उहाँले भन्नुभयो । यी तीन वटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो । 


आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । 


आजका दिन उपत्यका भित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्दछ । 


यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्दछ । 


आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । 


देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् । 


आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । 


रौतहटका मंन्दिरमा दर्शनार्थीको घुईचो 


रौतहट जिल्लाको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ को मत्सरीमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको दुर्गा मंन्दिरमा महाअष्टमीको अवसरमा विहान देखि नै पूँजा अर्चनाका लागि भक्तजनहरुको अत्यधिक घुईचो रहेको छ । 


मंन्दिरमा आफ्नो भाकल अनुसारको भेटी चढाउने तथा महिलाहरुले विषेश पूजा गरिरहेका छन् । वाक्लो रुपमा मैथिली बाहुनहरुको वसोवास रहेको मत्सरीमा प्रत्येक वर्ष वैदिक विधि विधान अनुसार घटस्थापना देखि पूर्णिमासम्म भव्यता पुर्वक माता दुर्गा भगवतिको पूजा आयोजना हुर्दै आएको छ । 


अखण्ड दुर्गासप्तसती पाठ, अन्य पुराणको पाठको साथै मंन्दिर भित्र उल्लेख्य संख्यामा गाउँ व्यक्त्हिरु पनि गएर स्वतः स्फूर्तरुपमा नै पाठ गर्ने गरेका छन् । दुर्गा पूजा अवधि भरि मेला पनि लाग्ने गरेको छ । 


मेला भर्नका लागि नेपाल भारतवाट पनि उल्लेख्य संख्यामा विगत वर्ष झै यस वर्ष पनि भक्तजनहरु मत्सरी आएका छन् । 


मंन्दिर व्यवस्थापकले विगत वर्ष झै यस वर्ष पनि परम्परागत तथा आधुनिक रुपमा गरिने नाचको व्यवस्था पनि गरेका छन् । सप्तमी तीथि देखि शुरु भएको नाच दशमी तीथिसम्म रहने पनि आयोजकले जनाएका छन् ।


यसका साथै महासप्तमीको फूलपाति पछि अष्टमीका विहान देखि नै बोका बलिपनि शुरु भएको छ । वोका बलिको कार्यक्रम नवमीसम्म चल्ने कार्यक्रम रहेको छ । हजारौको संख्यामा बोका बलि दिने गरेको छ ।

यस गाउँको अर्को महत्वपूर्ण विषेशता के रहेको छ भने गाउँलेहरुले नै पूजाको समूहिक व्यवस्थापन गर्दै आएको भएपनि अझै व्यवस्थि गर्नका लागि पूजा समितिको निर्माण गरिएको छ । पूजाका लागि स्वेच्छाले भक्तजनहरुले आफैले चन्दा पनि दिने गरेका छन् । पूँजा अवधिमा लाखौ रुपैया खर्च हुने गरेको पूँजा समितिका अध्यक्ष विनय कुमार झाले जनाएका छन् । 


पूजामा सहभागि हुनका लागि देश विदेशमा रहेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका गाउँले भक्तजनहरु पनि दशैमा सहभागि हुनका  लागि अनिवार्य रुपमा नै आफ्नो पैतृक थलोमा भौतिक रुपमा नै उपस्थित भएर एक अर्कासंग भलाकुसारी तथा शुभकामना साटासाट गर्ने गरेका छन् ।   


दशैं लागेपछि पाथीभरामा तिर्थयात्रिको संख्यामा वृद्धि


नौरथा लागेसंगै ताप्लेजुङमा प्रशिद्ध तिर्थस्थल पाथीभरा आउने तिर्थयात्रिको संख्यामा वृद्धि भएको छ  । 

चिताएको मनोकांक्षा पुरा हुने विश्वसका साथ प्रत्येक वर्ष नौरथा लागेसंगै थप तिर्थयात्रिको भिड लाग्ने गरेको छ ।


बोका पाठी डोर्याएर तथा काधमा बोकेर लोराको साथमा पाथीभरा लम्कने तिर्थयात्रिको तातिनै देख्न सकिन्छ । पाथीभरा क्षेत्रमा,फुङलिङ देखि काफ्ले पार्टी सम्म गाडीमा यात्र भएपनि त्यस भन्दा उकालो वाटो पैदाल यात्रा गर्नु पर्ने हुन्छ ।


तिर्थयात्रिको चापलाई मध्यनजर गदै अहिले पाथीभरा जानका लागि यातायात,बस्न साथै खानेपानीको राम्रो ब्यावस्था गरिएको पाथीभरा संरक्षण तथा संम्बद्धन समितिले जनाएको छ । तिर्थयात्रिका लागि नगरपालिकाको फुङलिङ देखि काफ्ले पार्टीसम्म पुग्न यातयातका सञ्चालन गरिएको छ भने सुरक्षाको ब्यवस्थालाई  पनि ब्यवस्थित गरिएको पाथीभरा संरक्षण तथा सम्बद्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले बताउनुहन्छ ।


देविको दर्शन गर्नका लागि नेपाल साथै भारतको विभिन्न स्थान देखि गाडी लिएर आउनेको संख्यपनि त्यतिकै रहेको छ । तिर्थयात्रिको संख्यामा वृद्धि भएसंगै जिल्लामा सञ्चालित होटल ब्यावसाय पनि फस्टाएको होटल ब्यावसायी बताउन्छन् ।


पाथीभरा दर्शन गर्न असोज महिनादेखि मंसिर सम्म र पुन फागुन देखि यता दर्शन गर्नका लागि उपयुक्त समय मानिन्छ ।  पाथीभरा मन्दिर समुन्द्र सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको छ ।