काठमाडौं ।
बडा दशैंको सातौं दिन देशभर धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ ।
उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल, नयाँ पालुवालाई फूलपातीका रुपमा शुभ साइतको प्रतीक मानी दूर्गा भवानीको प्रतिमा राखिएको दशैं घरमा विधिपूर्वक भित्र्याउने गरिन्छ ।
परम्परा अनुसार गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपाती आजै हनुमान ढोकास्थित दशैं घरमा भित्र्याइएको छ ।
टुँडिखेलमा फूलपाती बढाइँ
नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको बढाइँका साथै मार्चपास गरेका थिए ।
त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
दशैँको सातौँ दिन कालरात्रि देवीको उपासना
वडा दशैँको सातौँ दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको पूजा आराधना गरी मनाइयो ।
दशैँको सातौँ दिन कालरात्रि देवीको पूजा गरिने र महाअष्टमीका दिन राति गरिने कालरात्रि पूजामा भने महाकाली, महालक्ष्मी र महासरस्वतीलगायत नवदुर्गाकै विशेष पूजा गर्ने विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।