बाढी तथा डुबानबाट विस्थापितको पुर्नस्थापन सुरु

Posted on: August 19, 2017 | views: 375

बीरगञ्ज ।

बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर जिल्लामा बाढी तथा डुबान प्रभावितहरुलाई राहत वितरण सँगसँगै सडकको पुर्ननिर्माण र  पीडितलाई पुर्नस्थापन गर्ने कार्यले तीव्रता पाएको छ ।  


बारा, पर्सा र रौतहटमा पानी घट्दै गएपछि डुबानबाट विस्थापित झण्डै ७० प्रतिशत भन्दा बढी आ–आफ्नो घर फर्किएको र पीडितहरुलाई घर घरमै पुगेर राहत उपलब्ध गराइएको अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी वरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले बताउनुभयो ।


राहत वितरण र पुर्ननिर्माणका काम एक साथ अगाडी बढिरहेको र प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सरकारी तथा निजी अस्पताल र गैर सरकारी संघ संस्थाहरुले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको वरिष्ठ प्रहरी उपरिक्षक उपाध्यायले बताउनुभयो । 


बाढीबाट सबैभन्दा बढी प्रभावित रौतहटको ग्रामीण क्षेत्रको धेरै स्थानमा सडक सुचारु भईसकेको र कतिपय स्थानमा अस्थायी बाटो निर्माण गरेर भएपनि पीडितको घर दैलोमै राहत सामग्री पुर्याईएको उहाँले जानकारी दिनुभयो । 


डुबानको पानी सुकेसँगै राहत वितरण र पुर्ननिर्माणका काममा राजनीतिक दलहरुबीच विवाद हुँदा कतिपय स्थानमा अप्ठ्यारो भएको बताउदै प्रभावित क्षेत्रमा राजनैतिक दलहरु एकमत नहुँदा समस्या उत्पन्न भएको उपाध्यायले बताउनुभयो । 


यसैबीच, आज जिल्ला दैवी प्रकोप उद्धार समिति पर्साले जिल्लाको नौगवा, जानकी टोला, ठोरी लगायतको क्षेत्रमा स्वास्थ्यकर्मी सहित ४ टिपर राहत सामग्री पठाएको छ ।