२ नम्वर प्रदेशको चुनावको लागि निर्वाचन आयोगले सरकारलाई यस्तो निर्देशन दियो

Posted on: August 18, 2017 | views: 316

काठमाडौं ।

निर्वाचन आयोगले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सरकारलाई १७ बुँदे निर्देशन जारी गरेको छ । 


प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले दुई नम्बर प्रदेश अन्तर्गतका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न नेपाल सरकारका मुख्य सचिव मार्फत सरकारलाई १७ बँुदे निर्देशन दिने निर्णय गरेको हो ।


आयोगले प्रदेश नम्बर २ का सबै विद्यालयमा यही भदौ २७ गतेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि विद्यालय बन्द गर्ने र विद्यालय भवन तथा कम्पाउण्ड वाल निर्माण तथा मर्मत गर्नुपर्ने भएमा सोको तुरून्त निर्माण तथा मर्मत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 


आचार संहिता कार्यान्वयनका सम्बन्धमा आवश्यक सहयोग पुर्याउने प्रदेश नम्बर २ अन्तर्गत रहेका नेपाल सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षकको अद्यावधिक बिवरण एक हप्ताभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पठाउने, निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्था गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।


यसैगरी निर्वाचन आयोग र अन्तर्गतका कार्यालय र निर्वाचन सामग्री भण्डार स्थलको सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्र्मी परिचालन गर्न निर्वाचन सम्बन्धी मुद्रण कार्यमा सरकारी वा सरकारी स्वामित्वमा रहेका छापाखानाले प्राथमिकतासाथ छपाइ सम्बन्धी कार्य गर्ने र मतपत्र छपाइ आवश्यक परेमा  जनक शिक्षा सामग्री केन्द्र छापाखाना चालू अवस्थामा राख्न निर्देशन दिइएको छ । 


आयोगको निर्देशनमा स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न उम्मेदवार, दल, मतदाताहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउने र सार्वजनिक सञ्चारका माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय समाचार समितिले निर्वाचन अयोगको निर्देशन अनुरूप निर्वाचन सम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्नुपर्ने उल्लेख गरिएको छ ।


यसैगरी आयोगले कानून बमोजिम हातहतियार लिन पाउने बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विष्फोटक पदार्थ र हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न नपाउने गरी नियन्त्रणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।