अब पत्रकारको न्यूनतम मासिक तलब १९५००

Posted on: May 02, 2016 | views: 196

५ चैत, काठमाडौं ।
अब नेपालका पत्रकारको न्यूनतम तलब झण्डै २० हजार पुग्ने भएको छ । यसअघि लागू १० हजार ८ रुपैयाँको तलब स्वयं सरकारी सञ्चार माध्यममै लागू नभइरहेको अवस्थामा सरकारले नयाँ नियम लागू गर्न लागेको हो ।

अधिकाशं निजि टेलिभिजन च्यानलले ५ हजारमा समेत पत्रकारलाई काम लदाई रहेको बेलामा सरकारले भने आगामी वैशाख १ गतेदेखि पत्रकारको न्यूनतम मासिक तलब रु १९ हजार ५०० बनाउने तयारी गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पुनरवलोकन गरी सिफारिस गरेको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० र सञ्चार खर्च रु एक हजार वैशाख १ गतेदेखि लागू हुनेगरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागिएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिएका छन् ।

समितिले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री राईले सञ्चारगृहको वर्गीकरण गर्ने, पत्रकारको मापदण्ड तोक्ने, पत्रकारको योग्यता तोकी इजाजतपत्र दिने लिने प्रक्रियासमेत अघि बढाइने बताए ।

आवश्यकताअनुसार सञ्चारगृह गाभ्ने विकल्पसमेत खुला राख्न सुझाव दिँदै अहिलेकै जसरी ठूलो सङ्ख्यामा सञ्चारगृह खुल्ने क्रम रोकिनुपर्ने उनको भनाई छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले पारिश्रमिक पुनरवलोकनका सम्बन्धमा कुनै राय, सुझाव, प्रतिक्रिया भए सम्बन्धित निकायलाई यही चैत १७ गतेभित्रै बुझाउन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै सरकारद्वारा गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय सुझाव आयोगका संयोजक काशीराज दाहालले श्रमजीवी पत्रकार ऐन, २०५१ लागू भएको लामो समय हुँदा समेत पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु दुःखद् भएको बताउँदै त्यो लागू गर्न सरकार र सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।