कालिकोटका ९९ सरकारी विद्यालयमा शून्य दरबन्दी

Posted on: May 07, 2017 | views: 270

कालिकोट ।

कालिकोटमा ९९ सरकारी विद्यालय शिक्षक दरबन्दीविनै सञ्चालन भइरहेका छन् । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

केन्द्रबाट धेरैपटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले वर्षौँसम्म शिक्षकको राहत कोटासमेत नपाएको जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले जानकारी दिए । ‘राहतदेखि कुनै पनि दरबन्दी छैन,’ तिवारीले भने, ‘चार वर्षदेखि मागेको दरबन्दीको जवाफ अहिलेसम्म आएको छैन ।’ ती विद्यालयमा अब छिटै दरबन्दी दिने कुरा भएको, तर संघीयताका कुराले फेरि अन्योल भएको उनको भनाइ छ । शून्य दरबन्दी भए पनि निजी स्रोतबाट राम्रो प्रयास भएको तिवारीको भनाइ छ । सरकारले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क बनाए पनि शिक्षक दरबन्दी नहुँदा सरकारकै नीतिमा चुनौती थपिएको छ । कालिकोटमा अहिले दुई सय ९४ सामुदायिक र १२ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।

छात्राको संख्या धेरै

दुर्गम क्षेत्रका रूपमा चिनिने कर्णालीको कालिकोटमा छात्रभन्दा छात्राको संख्या धेरै रहेको छ । गत चैतमा सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा पनि छात्राको संख्या धेरै रहेको जिशिअ तिवारीले जानकारी दिए । एसइईमा सहभागी भएका चार हजार ७३ विद्यार्थीमध्ये छात्राको संख्या दुई हजार एक सय ५४ र छात्रको संख्या एक हजार नौ सय १९ थियो । अहिले कक्षाकोठामा पनि छात्रभन्दा छात्राको संख्या धेरै देखिने गरेको उनले बताए । ‘अनुगमनमा जाँदा जुन कोठामा गयो त्यसमा छात्रा बढी देखिन्छन्,’ जिशिअ तिवारीले भने । जिशिकाको तथ्यांकअनुसार जिल्लाका विद्यालय तहमा ६६ हजार २० विद्यार्थी अध्ययनरत छन् ।

सुविधाले विद्यार्थी आकर्षित

कर्णालीका विद्यार्थीलाई आकर्षित गर्न सरकारले प्रोत्साहनका धेरै कार्यक्रम ल्याएको छ । प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजासमेत दिने गरेको छ । खाजा ल्याउने विद्यार्थीलाई प्रतिदिन २० रुपैयाँको दरले रकम दिने गरिएको छ । खाजाका साथै निःशुल्क पुस्तक तथा छात्रवृत्तिको सुविधा दिएको छ । कक्षा १ देखि ५ सम्म एक हजार र ६ देखि ८ सम्मका विद्यार्थीलाई एक हजार पा“च सयका दरले छात्रवृत्ति दिँदै आएको छ ।