पुस्तक प्रदर्शनीमा तपाइँ पो छुट्नु भो कि ?

Posted on: June 01, 2016 | views: 328

हरिसुन्दर छुका-

‘पुस्तक पढ्नु, नदीमा नुहाउनु जस्तै हो’ भन्ने ग्रिक दार्शनिक हेराक्ल्टिस्को भनाइले जीवनमा पुस्तक पढ्नु भनेको के हो भन्ने छर्लङ्ग्याएको छ । निश्चय नै हरेक दिन नदीमा नुहाउँदा शरीरलाई मिल्ने ‘नयाँ स्फुर्ती’ जस्तै पुस्तक अध्ययनले जीवनमै ‘नयाँ स्फुर्ती’ दिन्छ । यसै कारण पुस्तकप्रति थोरै मात्र भए पनि ध्यान दिने जो कोही मानिस आफ्नो दैनिकीको सुरुवात र अन्त्य पुस्तकबाटै गर्छन् ।

जीवनमा पठनको महत्व र पठनका लागि पुस्तककको महत्व कति छ भन्ने कुरा ब्याख्या गरी सकिँदैन । यसैले पुस्तक पठनका लागि जागरुक बन्नु, बनाउनु अहिलेको समयको माग र आवश्यकता हो किनकि २१ औं शताब्दीको समयलार्य सजिलै पार गर्ने ‘अस्त्र’, र ‘विधि’ दुबै पुस्तकका पानाभित्र रहेका छन् ।

यही सन्दर्भमा अहिले गएको शुक्रबार (जेठ १४ गते) बाट राजधानीको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको २० औं संस्करण जारी छ । ‘पढ्नलाई प्रेरणा’ भन्ने गहन र गम्भीर विषयलाई मुख्य नारा बनाएर पूर्णत पठन संस्कृतिको विकासप्रति समर्पित प्रदर्शनीमा दिनानुदिन बढिरहेको पाठक तथा पुस्तक प्रेमीहरुको घुइँचोलाई हेर्ने हो भने प्रदर्शनी पुस्तकको संसारमा रमाउने, रमाएका र रमाउन मन पराउने ‘असल’ र ‘शक्तिशाली’ पाठकहरुको साझा थलो बनिरहेको छ ।


किन आउने प्रदर्शनीमा ?

अत्यावश्यक छ पुस्तक, जीवनका लागि । पुस्तकको प्रवद्र्धनका लागि आवश्यक छ पुस्तक प्रदर्शनी । ‘पुस्तक प्रदर्शनीले लेखक, पाठक र प्रकाशकलाई एकै थलोमा उभ्याउने मञ्च तयार गरेको छ, यस्ता प्रदर्शनीहरु व्र्षमा धेरैपटक हुनुपर्छ ।’ प्रदर्शनीको आवश्यकताबारेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रतीले भने । उनले पुस्तक प्रदर्शनीले नै पठन संस्कृतिको विकासको आधार बन्ने कारण प्रदर्शनी आवश्यक भएको उल्लेख गर्दै   प्रदर्शनी छुटाउनु भनेको दैनिक जीवनमा गर्नुपर्ने महत्वपूर्ण काम छुटेको बराबर हुने बताए । हो, अहिले वर्षमा धेरैपटक पुस्तक प्रदर्शनीहरु हुने गरेका छन् ।

यस्ता प्रदर्शनीको ‘गुह्य स्वार्थ’ जेजस्तै भए पनि बाहिरी र ‘देखिने स्वार्थ’ चाहिँ पक्कै पनि पठन संस्कृतिको विकास नै हो भन्दा अत्युक्ति हुन्न । वास्तवमा प्रदर्शनीको अर्थ धेरै कुराहरुलाई एकै ठाउँमा राख्नु हो । धेरै कुराहरु एकै ठाउँमा पाइँदाको फाइदाबारेमा चर्चा गर्नुभन्दा पनि हरेक वर्ग, उमेर समूहका व्यक्तिहरुलाई चाहिने तथा आफूले खाजेको, आफ्नो रुचि अनुसारको पुस्तक प्रदर्शनीमा पाइनाले मनको इच्छा र आकांक्षा पनि पूरा गर्न प्रदर्शनीले सघाउँछ । यति मात्र नभएर प्रदर्शनीमा सहभागी भएपछि पुस्तक रुपी सागरमा डुबुल्किँदै त्यहाँको आनन्दपान गर्न पाइन्छ ।

यतिमात्र नभएर अझ वरिष्ठ बाल कथाकार विनयकुमार कसजु त पुस्तक प्रदर्शनीलाई छुटाउनै नहुने कर्मका रुपमा लिन्छन् । उनले पुस्तक प्रदर्शनीमा युवा, विद्यार्थी, अभिभावकको मात्र सहभागिता नभएर स–साना विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता गराउनुपर्नेमा जोड दिन्छन् । ‘पुस्तक प्रदर्शनीमा विद्यार्थीहरु, स–साना बालबालिकाहरुलाई सहभागी गराउन पायौं भने उनीहरुले जीवनभरका लागि ज्ञान बटुल्छन्, उनीहरु दंग र अचम्म हुन्छन्, उनीहरु प्रेरित हुन्छन् ।’ कथाकार कसजु भन्छन् ।

पक्कै पनि पुस्तक प्रदर्शनी औपचारिकता मात्र होइन । प्रदर्शनीले सिर्जना गर्ने जीवन्त वातावरणले ससाना बालबालिकादेखि ज्येष्ठ नागरिक, विभिन्न पेशामा संलग्न व्यक्तिहरुले पनि ज्ञान हासिल गर्न सक्छन् । समग्रमा नितान्त पुस्तक र पठन संस्कृतिलाई केन्द्रीय विषय बनाएर हुने छलफल, अन्तरक्रिया, भेटघाटले प्रदर्शनीलाई ‘संगम स्थल’ बनाएको कारण त्यो संगम स्थलमा सहभागिता जनाउनु आवश्यक छ, भन्छन कथालय प्रकाशनका सिइओ राजीव प्रधान ।

मानिसलाई अन्तर आत्मादेखि नै उद्धेलित गराएर जगाउने काम गर्छ पुस्तकले  । पुस्तक पढ्दा नयाँ ज्ञान मिल्छ । यस्तो विशेषता र सदावहार गुणको खानी पुस्तक पढ्ने बानीको विकासका लागि गरिएको प्रदर्शनीमा सहभागी हुनु ‘अभागी’ नहुने बाटो पहिल्याउनु सरह हो । ‘हेरौं न, प्रदर्शनीमा आएका जो कोही पनि जिज्ञासु देखिन्छन, सबै आआफ्नो रुचि अनुसारका स्टलमा गएर पुस्तकतिर आँखा दौडाइरहेका हुन्छन, कोही लेखकसँग नजिकै बसेर अन्तरक्रिया गरिरहेका हुन्छन्, यस्तो अवसर पुस्तक पसलमा कहाँ ?’ प्रतिप्रश्न गर्दै केन्द्रीय बाल साहित्य प्रष्ठिानका संयोजक एवं बाल साहित्यकार कार्तिकेय घिमिरेले प्रष्टयाए ।

‘म पुस्तक र मोतीमा यत्ति फरक देख्दछु कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।’ महात्मा गान्धीको पुस्तकप्रतिको यो धारणाले पुस्तक प्रदर्शनीमा सहभागी हुँदा मिल्ने प्रत्यक्ष फाइदालाई पनि प्रतिविम्वन गरेको छ । प्रदर्शनी हेर्दै, पुस्तक छान्दै, छाम्दै, पुस्तकका पानाहरु पल्टाउँदै, कितावी सुगन्धबाट मोहित हुँदै अढाइ घन्टा बितेको समय ‘बेफ्वाँक’ को हुन्न । पुस्तकको त्यो निश्चल सागरमा रमाउन पाउँदा हत्तपत्त निस्कन मन नलाग्नु प्रदर्शनीको विशेषता नै हो ।
प्रदर्शनीमा के कुरा पाइँदैन ?, कुन विषयको पाइँदैन, खाजेको के कुरा पाइँदैन ? यो प्रश्नको जवाफमा आयोजक जेम्सका प्रबन्धक सन्तोष क्षत्री भन्छन्, ‘विज्ञान, समाज, कला, साहित्य, भूगोल, राजनीति, जीवन, दर्शन, फिल्म, बाल साहित्यमात्र नभएर आफूले खाजेको विषयका सम्पूर्ण पुस्तकहरु प्रदर्शनीमा छन् ।’

प्रदर्शनीमा स्टलहरुले दिने गरेका सहुलियत, स्टलमा आवद्ध व्यक्तिहरुको पाठकमैत्री व्यवहारले सबैलाई आर्कषित गरेको छ । स्वदेशी प्रकाशकहरु मात्र नभएर विदेशी प्रख्यात प्रकाशकहरुको पनि सहभागितामा भइरहेको प्रदर्शनीमा एकसय भन्दा बढी स्टलहरु रहेका छन् । ३५ हजार स्क्वायर फिट क्षेत्रफलमा गरिएको प्रदर्शनीमा दैनिक १ हजार ५ सयको हाराहारीमा पाठहरुको ओइरो लागिरहेको छ । पढौं र पढाऔं, पठन संस्कृतिको विकासका लागि भइरहेको अभ्यासमा तपाइँ पो छुट्नु भो कि ? प्रदर्शनी आगामी शनिबार (२२ गते) सम्म चल्नेछ ।