कामरुदेवी माविका विद्यार्थीलाई ‘गौरी अक्षय कोष’ मार्फत छात्रबृत्ति उपलब्ध

Posted on: February 19, 2021 | views: 247

दुईपिपल । ‘गौरी अक्षय कोष’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ दुईपिपल डबलीमा अबस्थित कामरुदेवी माध्यामिक विद्यालयका १५ जना विद्यार्थीलाई छात्रबृत्ति (नगद रुपैयाँ) वितरण गरिएको छ । 

विद्यालयको ५७ औँ बार्षिकोत्सव कार्यक्रमको अवसरमा ‘गौरी अक्षय कोष’ मार्फत कक्षा १ देखि ५ सम्मका उत्कृष्ट भएका विद्यार्थीहरुलाई नगद रुपैयाँ वितरण गरिएको हो । कार्यक्रममा कोषको तर्फबाट अध्यक्ष गायत्री दाहालले विद्यार्थीलाई नगद रुपैयाँ प्रदान गर्नुभएको हो । विद्यालयको कक्षा १ देखि ५ सम्मको कक्षागत रुपमा प्रथम भएका विद्यार्थीलाई १५००, दोश्रो भएकालाई १२०० र तेश्रो भएकालाई १००० रुपैयाँ अध्यक्ष दाहालले प्रदान गर्नुभएको हो । 


राष्ट्रिय स्वंयसेवकको महासचिव समेत रहनुभएका दाहालले  कोष मार्फत विद्यार्थीलाई प्रदान गरिएको छात्रबृत्तिले विद्यार्थीलाई अध्ययन प्रति थप उत्साहित एंव लगनशिल बनाई आगामी दिनमा अझै बढी अध्ययनमा केन्द्रित गराउन सहयोग पुग्ने बताउनुभयो । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.५ दाहालथोकको चेली गौरी दाहालको २०७२ बैशाख १२ मा गएको विनासकारी भूकम्पमा परेर निधन भएपछि उहाँकै स्मृतिमा परिवारले २०७४ सालमा ‘गौरी अक्षय कोष’ स्थापना गरेको थिए । उक्त कोषमा दुई लाख ५० हजार रुपैयाँ जम्मा गरिएको छ । सोही कोषको ब्याज रकमबाट हरेक वर्ष कामरुदेवी माविमा कक्षा १ देखि ५ सम्मका उत्कृष्ट हुने प्रथम, द्धित्तिय र तृत्तिय हुने १५ जना विद्यार्थीलाई नगद रुपैयाँ छात्रबृत्ति उपलब्ध गराइदै आएको छ । 


छात्रबृत्ति रकम प्रदान गर्न तथा विद्यालयको बार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय स्वंयसेवकका उपमहासचिव सफलता बोगटी, उपकोषाध्यक्ष सरिता पण्डित लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा विद्यालयको ५७ आँै बार्षिकोत्सव कार्यक्रम समेत रहेकोले बागमति प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डे, बेलकोटगढी नगरपालिकाको नगरप्रमुख राजेन्द्ररमण खनाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति यादवप्रसाद नेपाल, वडा नं. ५ का वडाध्यक्ष अनन्तराम नेपाल लगायतका अतिथी सहित विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष कुलबहादुर श्रेष्ठ, प्रधानध्यापक सावित्री अर्याल सहित सरोकारवालाहरुको सहभागिता रहेको विद्यालयका शिक्षक नारायणप्रसाद नेपालले जानकारी दिनुभयो ।