उद्घाटनको तयारीमा जनजागरण सामुदायिक पुस्तकालय

Posted on: April 19, 2018 | views: 891

६ बैशाख, नुवाकोट । नुवाकोट जिल्लाको  बेलकोटगढी नगरपालिका वडा नं. २ मा रहेको श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र निर्माण को अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकेर उद्घाटनको लागी तयार गरिदै गरीएको पुस्तकालय भवन हाल बेहुलिझैँ सिगारीदै छ ।


रिड नेपाल र ए.एस.बी को आर्थिक तथा प्रविधिक सहयोगमा जनजागरण सामुदायिक पुस्तकालयको पुननिर्माण तथा समुदायमा आधारीत समाबेशी विपद् जोखिम न्युनिकरण परियोजना अन्तर्गत निर्माण भएको उक्त पुस्तकालय नुवाकोट जिल्लाको मात्र नभई नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय भवन भएको पुस्तकालय व्यवस्थापन समितिको विश्वास रहेको छ । नवनिर्मित भवनमा पुस्तकालय कक्ष, बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभा हल, सुचना संचार प्रवधि कक्ष, विपद् जोखिम न्युनिकरण कक्ष, श्रव्य दृश्य कक्ष, कार्यलय कक्ष र अन्य गरी जम्मा नौ वटा कक्ष र चार वटा पहुँचयोग्य शौचालय रहेको छ । दुइ तल्ले पुस्तकालय भवनको हरेक कक्षमा सबै किसिमका अपांगता भएका व्यक्तिहरुको पहुँच रहने तथा प्रयोग गर्न सक्ने पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तिमल्सिनाको भनाइ रहेको छ ।


२ करोड ७५ लाख २७ हजार ५० रुपायाँ बजेट रहेको उक्त परियोजनामा १ करोड ७५ लाख सुविधा सम्पन्न पुस्तकालय भवन बनाउनको लागी रहेको छ भने बाँकी रकम कृषि, पशु स्वास्थ्य, महिला सशक्ति करण, अपांगता समाबेशी कार्यक्रम, विपद् जोखिम न्युनिकरण कार्यक्रम, पढ्ने बानिको विकाश तथा शैक्षिक क्षेत्रको विकाश गर्ने र्काक्रम साथै पुस्तकालयमा पुस्तक, फर्निचर, आई सि टि सहित विभिन्न कक्ष जडानका सामाग्री खरिदको लागी रहेको कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिनुभयो ।
२०७५ बैषाख २० गते समुद्घाटनको तयारीमा रहेको पुस्तकालय भवन निर्माण कार्य हाल पुर्ण रुपमा समाप्त भई हाल पुस्तकालय व्यवस्थापन कार्य सुरु भइरहेको छ । यस व्यवस्थापन कार्य अन्तर्गत पुस्तक व्यवस्थापन लगायत सम्पुर्ण कक्षहरुमा कक्ष अुसारको सामाग्री राखी तथा सजाई उद्घाटनको तयारीमा लागीरहेको छ ।


बिगत २०५९ साल देखी संचालमा आइरहेको पुस्तकालय भवन २०७२ सालको भुकम्पले पुर्ण रुपमा क्षती भएपछी फेरी पुननिर्माण गरीएको हो । भुकम्पको कारण पुस्तकालय भवन क्षती भएपछी निरास भएका स्थानियहरु पुन निर्माण भएपछी खुसि देखिन्छन ।